रोल्पा / स्थानीय तह निर्वाचनको मुखमा नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) , नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ ।
रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा चुनावी सभा सकेर फर्कने क्रममा भएको सो झडपमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका हुन् ।
डाँगी चढेको गाडी नियन्त्रणमा लिएर रड प्रहार गरेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति गोपाल घर्तीले जानकारी दिएका छन् । घाइते भएका डाँगीलाई उपचारका लागि दाङ लगिएको छ ।
आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरिएको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताएका छन् ।
झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिएका छन् ।
स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।






































