भरतपुर / स्थानीय तह निर्वाचन नजिकिएसँगैसत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् ।
बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरूले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।
त्यस्तै सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि सम्बोधन गर्ने बताइएको छ । सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू हिजो (बुधबार) नै चितवन आइसकेका छन् ।
भरतपुर महानगरान सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् भने नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।
कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले पनि भरतपुर महानगरकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उम्मेद्वारी फिर्तालिन भन्दै कांग्रेस नेताहरूले दवाव दिएपनि पाैडेलले भने उम्मेद्वारी फिर्ता लिएका छैनन् ।
पाैडेलले उम्मेद्वारी फिर्ता नलिएपछि रेनुकाे चुनावी यात्रा जटिल बनेको छ । पौडेलको उम्मेदवारी नै फिर्ता गराउन देउवाले गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठलाई भरतपुर पठाएका थिए । तर अन्तिम दिन पनि उम्मेदवारी फिर्ता नभएपछि वैशाख १७ मा दुवै मन्त्री फर्किएका थिए ।
रेनु दाहालमाथिको जोखिम कम गर्न पाँच दलीय गठबन्धनले जिल्लामा वडासम्मै तालमेल गरेको छ । चितवनका ७ पालिकामा रहेका ९८ वडामध्ये केहीबाहेक सबैमा गठबन्धनबीच भागबन्डा मिलाइएको छ ।
कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा कांग्रेसले उम्मेदवारी पाएका छन् ।
त्यस्तै भरतपुर महानगरपालिका र माडी नगरपालिकामा माओवादी केन्द्र र राप्ती नगरपालिकाको नेतृत्वको उम्मेदवारी एकीकृत समाजवादीले पाएका छन् ।
जिल्लाभर कांग्रेसले ५७, माओवादी केन्द्रले २८ र एकीकृत समाजवादीले ११ वडाको नेतृत्व लिएका छन् । बाँकी वडाको नेतृत्व कसले लिने भन्नेबारे अझै मिलाउने प्रयास भइरहेको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र (आरसी) अधिकारीले बताए ।
भरतपुरका २९ वडामध्ये कांग्रेसले १९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले ४ मा उम्मेदवारी दिएका छन् ।






































