उदयपुर / पार्टी हितविपरीत काम गरेको भन्दै नेकपा एमाले उदयपुरले सात जना नेता कार्यकर्तालाई अनुशासनको कारवाही गरेको छ। 

पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका सबैलाई कारवाही गरिएको हो।

OM Sai Pathibhara Hospital

कारवाहीमा पर्नेमा त्रियुगा नगरपालिका १ का नारायण ढकाल, रौतामाई गाउँपालिका ३ लाफागाउँका खिलराज राई, उदयपुरगढी गाउँपालिका ५ का बसन्त पौडेल, सोही गाउँपालिका वडा नं २ का इन्द्रबहादुर राउत, बेलका नगरपालिका ९ का तेजमान बिक, त्रिनपा ४ का लोकेश कटुवाल र कटारी नपा ४ का भुपेश तामाङ रहेका छन्।

पार्टीका सल्लाहकार सदस्य रहेका ढकालले त्रिनपा १ मा वडाध्यक्षको उम्मेदवारी दिएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका कमिटीका उपाध्यक्ष रहेका राईले वडा नं ३ को वडाध्यक्ष, विभागीय सदस्य रहेका पौडेलले उदयपुरगढी गाउँपालिकाको अध्यक्ष, सङ्गठित सदस्य रहेका राउतले उदयपुरगढी २ का वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

त्यस्तै लेखा आयोगका सदस्य रहेका बिक बेलका –२ का वडाध्यक्ष, नगरकमिटी सदस्य रहेका कटुवाल त्रिनपा ४ का वडाध्यक्ष र वडा कमिटी अध्यक्ष रहेका तामाङ कटारी ४ को स्वतन्त्र उम्मेदवार हुन्।

यसअघि कटारी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएकी प्रदेश कमिटी सचिवालय सदस्य भीमकुमारी राउतलाई अनुशासनको कारवाही गरिसकेको छ।