बिर्तामोड / नेकपा एमाले हल्दीबारी कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एमालेले हल्दीबारी गाउँपालिका –१ स्थित गोलधापमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

एमालेले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, स्थानीय उद्यम र रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन लगायतलाई मुख्य प्राथमिकता दिएको छ । 

आसन्न स्थानीय तह निर्वाचनमा हल्दीबारीमा एमालेले चुनाव जिते गाउँपालिका क्षेत्र भित्रको १ जना विद्यार्थीलाई प्रत्येक वर्ष एम.बि.बि.एस पढाउने, सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीका परिवारका पाँच जनाको निःशुल्क स्वास्थ्य बिमा गराइदिने प्रतिवद्धता गरेको छ । 

त्यस्तै जनताबाट उठेको करको पैसा गाउँपालिकाकै नागरिकहरूको स्वास्थ्यमा खर्च गर्ने, ‘एक वडा, एक पार्क’ को अवधारण अघि बढाउने, युवाहरूलाई गाउँमै सीप सिकाएर उद्यमशील बनाउने लगायतका अवधारणाहरू एमालेले अघि सारेको छ । 

अध्यक्ष पदका उम्मेद्वार डम्बर गिरीले आसन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भए गाउँपालिकाको उपाध्यक्ष भएर गरेको कामको अनुभवबाट अझ गाउँपालिकालाई फरक तरिकाले परिवर्तन गर्ने बताएमा छन् । 

नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य तथा हल्दीबारी निर्वाचन परिचालन समितिका संयोजक सोमनाथ पोर्तेलले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले पाँच वर्ष भरी सरकारी गाडी चढेर केही महिना अघि मात्र सरकारी सेवा सुविधा नलिने भन्दै गाडी जिम्मा लगाएरको भन्दै आलोचना गरेका थिए। 

पोर्तेलले हल्दीबारीमा एमालेले जितेका पदाधिकारीहरूले सरकारी सेवा सुविधा नलिने समेत प्रतिवद्धता जनाएका छन् । 

एमालेको तर्फबाट हल्दीबारी गाउँपालिका अध्यक्षमा डम्बर बहादुर गिरी र उपाध्यक्षमा शान्तादेवी गौतम उम्मेदवार छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । 

एमालेबाट हल्दीबारी गाउँपालिका –१ को वडाअध्यक्षमा त्रिलोचन सापकोटा र सदस्यहरूमा अम्बिका दाहाल, कुमारी विश्वकर्मा, केशर बहादुर लिङ्देन र झमक नारायण थापा मगर उम्मेदवार छन् 

त्यस्तै हल्दीबारी –२ बाट वडाध्यक्षमा हर्क बहादुर तामाङ र सदस्यहरूमा कमला उप्रेती (खरेल), अम्बिका दर्जी, पदमलाल राजवंशी र विष्णु बहादुर राईले उम्मेदवारी दिएका छन् ।

हल्दीबारी –३ बाट वडाध्यक्षमा विष्णु प्रसाद ओली र सदस्यहरूमा विष्णुमाया तिम्सिना, शर्मिला विश्वकर्मा, अजित कुमार विष्ट र कर्ण बहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी हल्दीबारी –५ बाट झम्बिर नेम्वाङ्ले वडाध्यक्षमा यामुना बजगाईँ, मनमायाँ विश्वकर्मा, भीम बहादुर लावती र यामनाथ गिरीले सदस्यमा उम्मेदवारी दिएका छन् ।