काठमाडौँ / स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने विद्रोही (बागी) उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको हो । 

OM Sai Pathibhara Hospital

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे / गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिन अनुरोध गरेका छन् ।

बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई विजयी गराउन भूमिका निर्वाह गर्न पनि उनले अनुरोध गरेका छन् ।

उम्मेदवारी फिर्ता नगरे विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ ।

भरतपुर महानगरपालिकामा विद्रोही उम्मेदवार बनेका जगन्नाथ पौडेल, हरिश्चन्द्र घिमिरेलगायतले उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन् भने पोखरा लगायत स्थानीय तहमा पनि विद्रोही उम्मेदवारी दिएकाहरूले फिर्ता लिन मानिरहेका छैनन् ।