बिर्तामोड / कामना सेवा विकास बैँकले किर्ते कागजातका आधारमा करोडौँ कर्जा लिएको भन्दै ६१ वर्षीय एक बृद्धमाथि मुद्दा चलाएर बैँकका उच्च तहका कर्मचारीलाई उन्मुक्ति दिएको छ । 

कामना सेवा विकास बैँकको झापाको दमक शाखाबाट ऋण लिएका मोरङको उर्लाबारी नगरपालिका –५ घर भएका ६१ वर्षीय प्रेम कुमार तामाङ विरुद्ध बैंकले मुद्दा चलाएको हो । 

OM Sai Pathibhara Hospital

बैंकबाट हुने सबै किसिमका ऋण कारोबारमा गल्ती भयो भने त्यसको प्रमुख कार्यकारी अधिकृत सिइओ जिम्मेवार हुनुपर्ने बैंक तथा वित्तिय संस्थाका विज्ञकाे भनाइ छ । 

तर, यो मुद्दामा प्रहरीले किर्ते कागजात रुजु गर्ने र ऋण स्वीकृत गर्ने सबै अधिकारीलाई उन्मुक्ति दिएको छ ।

बैँकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत सहित मुख्य कार्यालयका कर्जा अधिकृत, प्रदेश एकका तत्कालीन प्रमुख सुजन छाराहाङ र शाखा प्रमुख सञ्जीव निरौलालाई कुनै मुद्दा लगाएको छैन् ।

याे पनि – कामना सेवा विकास बैंकमा किर्ते कागजातबाट कारोबार

तामाङका छोरा प्रकाश लामाले बुलेट बाइकको कारोबार गर्ने उद्देश्यले दमक नगरपालिका –५ मा छिरिङ ईन्टर प्राइजेज नामक कम्पनी खोलेका थिए । 

उक्त कम्पनीमा लगानी गर्न भन्दै लामाले उर्लाबारी –५ मा रहेको कित्ता नम्बर ३४ र २९१ मा रहेको घर तथा जग्गा धितो राख्ने भएका थिए । बैँकमा जग्गा धितो राख्दा पालिकाबाट कागजात प्रमाणित गरेर लग्नु पर्ने व्यवस्था रहेको छ । 

घरको नक्सा पास र घर निर्माण सम्पन्नताको प्रमाण पत्र भएपछि मात्रै बैंकले ऋण दिने प्रक्रिया शुरु गर्छ । सोही क्रममा उर्लाबारी नगरपालिका जाँदा तामाङको एक जना व्यक्ति सँग भेट हुन्छ । 

नगरपालिकाको कर्मचारी बताउने ती व्यक्तिले ३० हजार दिए सबै काम गर्दिने बताएका थिए । सोही अनुरूप वृद्ध तामाङले ३० हजार दिएर कागजात लिएर गएका थिए । 

सोही कागजातको आधारमा तामाङले कामना सेवा विकास बैंकबाट एक करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए । तामाङले तत्कालीन बैंकको प्रदेश १ प्रमुख सुजन छाराहाङ र शाखा प्रमुख सञ्जीव निरौलाको मिलेमतोमा ऋण लिएका थिए । 

बैँकलाई २ वर्ष देखि मासिक किस्ता तिर्दै आएका तामाङले मुलुकमा कोरोना भाइरस सङ्क्रमणका कारण लकडाउन भएपछि किस्ता बुझाएका थिएनन् । 

नियमित किस्ता बुझाउन नसकेपछि बैंकले धितोमा रहेको घरजग्गा लिलामी गर्ने प्रक्रिया थालेको थियो । लिलामीको प्रक्रियामा लाग्दा बैँकले उक्त कागजात किर्ते भएको फेला पारेको थियो । 

किर्ते कागजात बनाएर ऋण लिएको भन्दै तामाङ विरुद्ध कामना सेवा विकास बैँकले इलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले नक्कली कागजात बनाएको अभियोगमा उनलाई पक्राउ गरि हिरासतमा राखेको छ । 

यता जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनका छोरा प्रकाश लामालाई फरार प्रतिवादी बनाएर बाबुमाथि सरकारी दस्तखत किर्ते मुद्दा लगाएको छ ।