बिर्तामोड / कामना सेवा विकास बैंकले किर्ते कागजातको आधारमा ऋण लिएको भन्दै ६१ वर्षीय वृद्धमाथि मुद्दा चलाएर ऋण धितो लिने, दिने प्रकियामा संलग्न रहेका बैँकका कर्मचारीला भने उन्मुक्ति दिएको पाइएकाे छ । 

झापाको दमकमा रहेको कामना सेवा विकास बैंकको शाखाबाट ऋण लिएका मोरङको उर्लाबारी नगरपालिका –५ का ६१ वर्षीय प्रेम कुमार तामाङमाथि मुद्दा चलाएर ऋण दिने र लिने कार्यमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन वस्नेतलाई बैंकले उन्मुक्ति दिएको हो । 

OM Sai Pathibhara Hospital

बैंकबाट हुने सबै किसिमका ऋण कारोबारमा गल्ती भए त्यसको जिम्मेवार प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुने  बैंक तथा वितिया संस्थाका एक विज्ञले बताए ।

विज्ञका अनुसार कामना विकास बैंकले भने बैंकका सिइओ बस्नेतमाथि कारवाही नगरी ऋण लिने तामाङविरुद्ध मुद्दा चलाएको छ । 

तामाङका छोरा प्रकाश लामाले झापाको दमक नगरपालिका –५ मा बुलेट बाइकको कारोबार गर्ने उद्देश्यले छिरिङ इन्टर प्राइजेज नामक कम्पनी खोलेका थिए । सोही कम्पनीको ‘ग्रोथ’ गर्नका लागि तामाङले कामना विकास बैंकमा जग्गा धितो राखेर पैसा झिक्न गएका थिए । 

जग्गा धितो राख्नका लागि घरको नक्सा पास र घर निर्माण सम्पन्नताको प्रमाण पत्र लिन उर्लाबारी नगरपालिका पुगेका तामाङको एक व्यक्तिसँग भेट भएको थियो । 

नगरपालिकाको कर्मचारी बताउने ती व्यक्तिले नै सबै कागजात मिलाइ दिएको तामाङले बताए । तामाङका अनुसार सोही कागजात लिएर जाँदा बैंकले एक करोड ५० लाख रुपैयाँ ऋण दिएको थियो । 

कोरोनाका कारण व्यापार ठप्प भएपछि किस्ता बुझाउन नसकेका तामाङको बैँकले जग्गा लिलामीको प्रकिया थालेको थियो ।

लिलामीको प्रकियामा लाग्दा कागजात किर्ते भएको थाहा पाएपछि बैंकले इलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन दिएकाे  थियाे । 

साेही निवेदनका अाधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले प्रेम कुमारलाई पक्राउ गरेको छ ।