काठमाडौं । सांसदहरूले पहिलोपटक राज्यकोषबाट स्वकीय सचिव राख्न पाउने सुविधा पाएलगत्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नै सांसदमाथि कडा अनुशासन लागू गरेको छ। पार्टीले स्पष्ट निर्देशन जारी गर्दै परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाएको हो।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी आन्तरिक निर्देशनमा ुनातावाद र परिवारवादको पूर्ण निषेधु लाई अनिवार्य मापदण्ड बनाइएको छ। अब रास्वपाका कुनै पनि संघीय सांसदले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्।

सरकारले हालै राजपत्रमार्फत सांसदलाई शाखा अधिकृत ९राजपत्राङ्कित तृतीय श्रेणी० सरह सुविधा र तलबसहित एक जना स्वकीय सचिव राख्न सक्ने व्यवस्था लागू गरेको थियो। यही व्यवस्थापछि राज्यकोषको दुरुपयोग र राजनीतिक नियुक्तिको आशंका बढिरहेका बेला रास्वपाले आफ्ना सांसदलाई आफन्तभन्दा बाहिरका योग्य व्यक्तिलाई मात्रै नियुक्त गर्न निर्देशन दिएको हो।

पार्टीले यो कदमलाई पारदर्शिता, मितव्ययिता र जनउत्तरदायित्व कायम गर्ने प्रयास भनेको छ। राजनीतिक वृत्तमा भने यसलाई अरू दलका सांसदमाथि पनि नैतिक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।

यदि यो निर्देशन व्यवहारमै कार्यान्वयन भयो भने, राज्यकोषबाट दिइने स्वकीय सचिव सुविधा नातावादको माध्यम होइन, योग्यताको आधारमा प्रयोग हुने दुर्लभ उदाहरण बन्न सक्छ।