रुस – युक्रेन युद्व ले इन्धन संकट भएको कारण देखाउँदै भारतले ढुवानीमा अवरोध पुर्याएपछि नेपालमा समेत कोइलाको अभाव सुरु भएको छ । कोइला अभाव र अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण इँटा उद्योग सङ्कटमा परेका छन् । कोइला अभावसँगै इँटाको समेत मूल्य आकाशिएको छ ।
प्रदेश एकमा रहेका इँटा उद्योग कोइला अभावका कारण बन्द हुने अवस्था आएको छ । विगत एक साता देखि भारतले कोलकाता बन्दरगाहमा आइपुगेको नेपाली व्यवसायीको कोइला ढुवानीमा व्यवधान खडा गरिदिँदा नेपालमा रहेका इँटा उद्योग समस्यामा परेको नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको छ ।
परिसंघका प्रदेश अध्यक्ष समेत रहेका इँटा उध्योगका संचालक भिम घिमिरेले गत वर्ष प्रति टन १९ हजारमा आयात हुँदै आएको कोइलाको मूल्य यद्धका कारण प्रतिटन ४६ हजार पुगेको जानकारी गराएका छन् । मूल्य अकासिएको समयमा पनि आयात हुँदै गरेको कोइला भारतले इन्धन अभावको कारण देखाउँदै नेपालको सिमाना सम्म ढुवानी गर्न आनाकानी गरिदिँदा प्रदेश १ का इँटा उद्योग सञ्चालनमा कठिनाइ भएको उनले बताएका छन् ।
नेपाली व्यवसायीले अमेरिका र इन्डोनेसियाबाट पानी जहाजमा ल्याएको कोइला यतिबेला कोलकाताको हल्दिया बन्दरगाहमा रोकिएको छ । विगतमा भारतबाट कोइला आयात गर्दै आएका नेपाली व्यवसायीले भारतले उर्जा सङ्कटको कारण देखाउँदै नेपालीलाई दिन बन्द गरेपछि अमेरिका र इन्डोनेसियाबाट आयात गर्न थालेका थिए ।
भारतीय अवरोधका कारण हल्दिया बन्दरगाहमा आइपुगेको नेपाली व्यवसायीको दुई लाख टन भन्दा बढि कोइला रोकिएको बताईएको छ । कोइला अभाव र मूल्यवृद्धिका कारण उद्योगीले इँटाको मूल्य बढाउने तयारी गरेका छन् ।
इँटा उत्पादनको समयमा नै कोइला अभाव देखिएपछि उद्योगीले भारत र बङ्गलादेशबाट ल्याएका मजदुरलाई समेत विना काम पारिश्रमिक दिनु परेकाले मूल्य बढाउने अवस्था आएको इँटा उद्योग व्यवसायी महासङ्घले जनाएको छ ।
प्रदेशका इँटा उद्योगमा मौज्दात रहेको कोइलाले अब एक साता मात्रै उद्योग सञ्चालन गर्न सकिने भएकाले उत्पादन घटाउन र उद्योग बन्द गर्न तयारी समेत थालिएको संघले जानकारी गराएको छ ।