सर्लाही / सर्लाहीको सदरमुकाम मलङ्गवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा बाराको फेटा गाउँपालिका १ त्रिवेणीका २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका-४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागी गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठेकेदारमार्फत विद्युत विस्तार काम गर्ने क्रममा ११ हजारको तारमा पोलमा भएको फलामे डन्डी छुन गई करेन्ट लाग्दा महतोको मृत्यु भएको नेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख विनोद यादवले जानकारी दिए ।