तनहुँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा बिक्रीवितरण गरेको आरोपमा मृत्यु भएका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

तनहुँको शुक्लागण्डकी नगरपालिका –१६ स्थित हिमाली प्रा. वि. तनहुँको सार्वजनिक जग्गा बिक्रीवितरण गरेको आरोपमा अख्तियारले मृत्यु भएका व्यक्तिसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

OM Sai Pathibhara Hospital

विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले साविक ढोरफिर्दीमा रहेको सरकारी जग्गालाई घरसारको कागजातहरू बनाई गैरकानुनी रूपमा भोगचलन गर्ने, गराउने गरेको खुलेपछि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, प्रधानाध्यापक तथा सदस्य सचिव यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमार महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ, खड्कबहादुर बानियाँलगायत विरुद्ध अख्तियारले मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  

अख्तियारले प्रतिवादीमध्ये घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतविरुद्ध एक लाख ६९ हजार ५१ रुपैयाँ बिगो कायम गरी सजाय माग दाबी गरेको छ ।

मुद्दा दायर गरेका मध्ये यामबहादुर, धुनबहादुर, ज्ञानबहादुर र खडकबहादुरको मृत्यु भइसकेको कुरा अनुसन्धानबाट खुलेको भण्डारीले बताए । भण्डारीका अनुसार उनीहरूको मृत्यु भएपनि उनीहरु विरुद्ध एक लाख ६९ हजार ५१ रुपैयाँ बिगो भराउन माग गरिएको छ । मृत्यु भइसकेका व्यक्ति विरुद्ध मुद्धा दायर भएको यो नेपालको पहिलो घटना हो । 

अख्तियारले विद्यालयको जग्गा खरिद गरी उपभोग गर्ने सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया वि.क., बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर वि.क. र धनबहादुर वि.कलाई समेत कसुरको मतियारको रुपमा कार्य गरेको भन्दै उनीहरूबाट भोग हटाई जग्गा जफत गर्नुपर्ने माग दाबी गरेको छ । 

तीमध्ये प्रतिवादीहरू लोकबहादुर, डोलराज र धनबहादुरको भने मृत्यु भइसकेको छ । 

मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकाले उनीहरुविरुद्ध पनि मुद्दा चलाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।