बिर्तामोड / इलाम जिल्लाको रोङ गाउँपालिकामा पहिरो पीडितलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो । वि सं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो । पहिरो पीडित घर - परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

पहिरो पीडितलाई घर - जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिकाका अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आफूहरू निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथाम साथै नियन्त्रण गर्नका लागि निरन्तररूपमा पहल भइरहेको छ । 

OM Sai Pathibhara Hospital

गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र सङ्घीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए । प्रदेशबाट यसअघि रु १० लाख विनियोजन भएर पहिराको फेदमा बाँध बाँध्ने काम अगाडि बढेको उनले बताए ।