झापा / जाजरकोटमा लगातार दुई दिनसम्म परेको भारी हिमपातले कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लास्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।

दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका –५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेबी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिइन् । दुई प्लास्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ ।

OM Sai Pathibhara Hospital

‘केही दिन अगाडि दैनिक एक हजार २०० रुपैयाँ ज्याला दिएर सुन्तलाका बिरुवामा कलमी गरेका थियौँ, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थचारिएर सबै बिरुवा नष्ट भएका छन्,’ मल्लले भने, ‘हिमपातले हाम्रो जेबी कृषि फार्म उद्योगमा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट गरेको छ, हरिबहादुर थापा प्रोपराइटर रहेको बाटापाखा हार्बिष्ट कृषि फार्मका ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन्, वीरबहादुर खड्का प्रोपराइटर रहेको प्रगतिशील नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन् ।’

मल्लले दिएको जानकारीअनुसार शिवबहादुर मल्ल प्रोपराइटर रहेको प्रविण हिउँदे तथा वर्षे फलफूल नर्सरीमा भने हिउँले त्यस्तै क्षति गरेको छ । शक्तिबहादुर वली प्रोपराइटर रहेको कुशे अर्ग्यानिक कृषि फार्ममा रहेका सुन्तलाका बिरुवा हिमपातले के – कति क्षति गयो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुनसकेको छैन ।