झापा / लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।

प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

OM Sai Pathibhara Hospital


कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।

यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य रु ८५० देखि ९०० सम्म रहेपनि किसानले रु एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष रु एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँसीसहर नगरपालिका –४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गत वर्ष ९६ क्विन्टल मह उत्पादन गरेका थिए । तर यसवर्ष असोज महिनामा बढी वर्षा भएका कारण जम्मा पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ ।

उनले भने, ‘मैले गत जेठमा २१५ वटा मौरीसहितको घार बिक्री गरे । यतिका मह १४१ वटा मौरीको घारबाट उत्पादन गरेका हुँ । यसवर्ष वर्षाले मेरो मात्र होइन, तुलनात्मक रुपमा अधिकांश कृषकको मह उत्पादन घटेको छ ।’

नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका –११ का दुव्र दुराले पनि सोचेकोभन्दा कम मह उत्पादन गरेको बताए ।

उनले भने, ‘गत वर्ष ४५ वटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन गरेका थिए, यस वर्ष त झन मौरी घार थपेर ९० वटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए तर डेढ क्विन्टल मात्र उत्पादन भयो।’ जिल्लाका कृषकहरूले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन् ।

नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् ।

मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरणहरू वितरण गरेको थियो ।

जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका –४, ५ र ६, सुन्दरबजार नगरपालिका-५ र बेँसीसहर नगरपालिका –२ लाई मौरी पकेट क्षेत्रका रुपमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितको ५०० र खाली घार एक हजार २०० वटा किसानलाई वितरण गर्नुका साथै मौरीजन्य उपकरणसमेत वितरण गरिएको केन्द्रले जनाएको छ ।