झापा / यतिबेला इलाममा सुन्तलाको सिजन सुरु भएको छ ।

कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपियाँदेखि १२० रुपियाँसम्म छ । गत वर्ष जस्तै यो वर्ष पनि सुन्तलाको बगान बिक्री सुरु भएको छ ।

OM Sai Pathibhara Hospital

इलाममा सुन्तलाको उत्पादन भने घट्दै छ । बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । “पाँच र छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहंँेलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने भए समस्या छ । यसको उपचार गर्नै सकिएन,” इलाम नगरपालिका –५ का किसान सामवेद चापागाँईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए ।

गत वर्ष चार लाख रुपियाँ आम्दानी गरेका चापागाँईले आफ्नो बगैँचामा यस वर्ष २० क्विन्टल सुन्तला उत्पादन हुने अनुमान गरे । इलाम नगरपालिका –५, बरबोटेका अर्का किसान जितबहादुर जबेगुको बगैँचामा यो वर्ष १५ क्विन्टलजति सुन्तला उत्पादन हुने अनुमान छ । जबेगु किसान मात्रा नभएर छरछिमेकको सुन्तलासमेत झापामा लगेर बिक्री गर्छन । “नयाँ बगानमा सुन्तला राम्रै छ, अलि पुराना बगान भने मासिएको अवस्था छ,” जबेगुले भने ।

सुन्तलाकै नामले परिचित ‘गोल्डेन भ्याली’ इलामको सलकपुरमा भने सुन्तला बगान सखाप भएको छ । बर्सेनि एक करोड रुपियाँको सुन्तला निकासी हुने सलकपुरमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको जिर्मलेका किसान याम अधिकारीले बताए । बोट नै  सुक्ने रोगले सलकपुरका सबैजसो बगान सखाप भएको अधिकारीको भनाइ छ ।

यहाँका करिब २०० किसानले सुन्तला लगाएको र एउटा किसानको बगान आठ लाख रुपियाँसम्ममा बिक्री हुने गरेको अधिकारीले बताएका छन । कृषि ज्ञान केन्द्र इलामले यो वर्षको सुन्तलाको उत्पादनसम्बन्धी तथ्याङ्क सङ्कलन भइनसकेको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत हेमराज पन्तले फल झर्ने, बोट सुक्ने जस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दो रहेको बताए ।

इलाममा ३३० हेक्टरमा सुन्तला खेती भइरहेको छ । जिल्लामा गत वर्ष भने दुई हजार ९४१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाका सुम्बेक, बरबोटे, नामसालिङ, सोयाक गोदक, जिर्मले लगायतका क्षेत्रमा सुन्तला खेती गरिए पनि ती क्षेत्रका बगानमा पनि रोग देखापरेपछि सुन्तला बगान सुक्न थालेको किसानले बताएका छन् ।