काठमाडौं / यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३ अंकले बढेर बन्द भएको छ । साताको चार कारोबार दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो ।
यही साता उद्यौलीरउभौली पर्व परेकाले एक दिन नेप्से बन्द थियो । गत साताको बिहीबार २३ सय ७६ अंकमा बन्द भएको थियो । जुन, यो सातामा आएको उत्साहजनक बृद्धिसँगै २५ सय २० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । चार कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक उकालो लागेपछि ठूलो सुधार आएको हो ।
अर्थ मन्त्रालयले स्थानीय तहमा जाने कूल बजेटको ८० प्रतिशत बजेटलाई बैंकिङ प्रणालीमा तरलताका रुपमा गणना गर्ने निर्णय लिएको थियो । यस्तै, केन्द्रीय बैंकले बढ्दो आयात रोक्दै मुद्रा विदेशिनबाट रोक्न आयात कडाइको नीति लिएको थियो । यही दुई कारणले बैंकमा तरलता बढ्ने अनुमानसहित लगानीकर्ताले बजारमा लगानी बढाएपछि सूचक माथि उक्लिएको हो ।
यो सातामा कारोबार रकम पनि सुधारिएको छ । साताको चार दिनमा १३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ । यो दैनिक औसत साढे तीन अर्ब हाराहारीको कारोबार हो । गत साताको पाँच दिनमा दैनिक औसतमा ३ अर्ब २० करोडको कारोबार भएको थियो ।