काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । 

लामो समयदेखि फरार रहेका उनीहरूलाई हिजो मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

महतोका अनुसार माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको हो । उनहरू अहिले सीआईबीको नियन्त्रणमा छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकार सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

२०४९, २०६२, २०६६ र ६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भए पनि उनी फरार थिए ।

सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारको अनुसन्धानपछि पनि सुवेदी दम्पती फरार थिए ।