काठमाडौँ / विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किनेहरुको साथबाट तीन सातामा १०६ किलो सुन बरामद गरेको छ । 

वैदेशिक रोजगारीबाट फर्किने दुई हजार ६० यात्रुले ल्याएको १०६ किलो सुन विमानस्थल भन्सारले बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनका अनुसार सुन ल्याउनेमा पर्यटक भिसा र कामदार भिसा दुवै वर्गका नेपाली छन् । कामदारमध्ये पनि १० प्रतिशत र पर्यटक भिसाका १० प्रतिशतले वैध रूपमै सुन ल्याउने गरेको पाइएको छ । 

राजस्व छल्ने उद्देश्यले स्रोत नखुलेको सुन विमानस्थल हुँदै नेपाल भित्रिन थालेपछि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी सुरु गरेको छ । 

विमानस्थल भन्सारले सोही दिन २१ किलो अवैध सुन बरामद गरेको थियो । विमानस्थल भन्सार कार्यालयले निगरानी सुरु गरेको पहिलो हप्ता साढे ७२ किलोग्राम, दोस्रो हप्ता २१ किलोग्राम र तेस्रो हप्ता १३ किलोग्राम सुन बरामद गरेको जनाएको छ । 

भरियाका रूपमा प्रयोग हुने कामदार प्रलोभन र अन्जानमा फस्ने गरे पनि मुख्य तस्कर पत्ता लाग्न सकेका छैनन् । भन्सारमा कडाइपछि सुनको तस्करी कम भएको देखिएको छ ।

तस्करीको सुन कहाँबाट आइरहेको छ र कहाँ गइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

तस्करीको ट्रान्जिट ब्रेक गर्न विशेष अपरेसन सुरु गरिएको बताउँदै प्रमुख महेश भट्टराईले विमानस्थलबाट हुने तस्करीलाई कडाइ गरेपछि वैदेशिक रोजगारीबाट फर्किने सामान्य कामदारलाई तस्करले प्रयोग गरेको बताए । 

भन्सार छल्ने उद्देश्यले कामदारलाई भरिया बनाएर ल्याएको सुनको गहना जस्तो देखिने बाला, सिक्री, औँठी ल्याउने गरेका छन् । भन्सार ऐन, २०६४ अनुसार यात्रुले प्रयोग गरेको ५० ग्रामसम्मका सुनका गहना ल्याउन लैजान अनुमति दिइएको छ तर यात्रुले लगाएको सुनको स्रोत खुल्नुपर्छ । स्रोत नखुलेका वा शङ्कास्पद सुन वा गहना भन्सार कार्यालयले नियन्त्रणमा लिन सक्छ ।

नौ सयभन्दा बढी यात्रुले ल्याएको ९९ किलोग्राम सुन राजस्व तिरेर फिर्ता लगेका छन्, जसबाट नौ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सुनको अवैध तस्करी बढ्न थालेपछि नियन्त्रणका लागि अर्थ मन्त्रालय र विमानस्थल भन्सार कार्यालय विशेष टोली संयुक्त रूपमा परिचालन गरिएको छ । अर्थ मन्त्रालयबाट १० र भन्सार कार्यालयबाट नौ जनासहित ७० जनाको टोलीले विमानस्थलमा सूक्ष्म अनुगमन गरिरहेको छ ।