बिर्तामोड / झापाको मेचीनगर नगरपालिका -१३ चारआली जङ्गलबाट नेपाली सेनाले एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ ।

नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जङ्गलभित्र सोमबार बिहान पौने ८ बजे दुई जना व्यक्ति बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुगेको थियो ।

OM Sai Pathibhara Hospital

सेनालाई देखेपछि ती व्यक्ति त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको नयाँ श्रीनाथ गण प्रमुख सेनानी अमरजंग थापाले जानकारी दिएका छन ।

‘सेनालाई देखेपछि बन्दुकसहितका सामान झाडीमा फालेर ती व्यक्तिहरू भाग्न सफल भयो,’ प्रमुख सेना थापाले भने, जङ्गल क्षेत्रमै सेनाको ब्यारेक रहेको र बेला बेला ब्यारेकभित्र बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जङ्गलभित्रै गस्ती बढाएको हो ।’

प्रमुख सेनानी थापाका अनुसार जङ्गलमा शिकार खेल्न हातहतियारसहित सिकारी आउने गरेको र भागेका व्यक्ति पनि सिकारी नै भएको उनले बताए । बरामद गरिएको बन्दुकसहितका सामग्रीहरू वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगिसकेको उनको भनाई छ ।