काठमाडौं / न्यनतम तापक्रम कम भएसँगै विद्युत खपतको दर वृद्धि भएको छ । विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार यसै सातादेखि २६ प्रतिशतले विद्युत माग वृद्धि भएको हो ।

गत वर्षको मंसिर २७ गते एक हजार २१७ मेगावाट माग रहेकोमा यस वर्ष एक हजार ५३९ मेगावाट भएपछि गतवर्षको तुलनामा ३२२ मेगावाट अर्थात पिक डिमाण्डमा २६.५ प्रतिशत वृद्धि भएको प्राधिकरणले जनाएको छ । 

OM Sai Pathibhara Hospital

विद्युतको आन्तरिक माग ह्वात्तै बढेसँगै माग धान्न नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयत गरेर पनि माग पूर्ति गर्दै आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसरी नै खपत वृद्धि भएमा असारसम्ममा पिक डिमाण्ड दुई हजार मेगावाट पुग्ने उनले बताए ।

विद्युत वितरणका लागि सव–स्टेशनहरु निर्माणमा वृद्धि गरी वितरणलाई प्रभावकारी बनाउँदै विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि आएपछि खपतमा पनि वृद्धि भएको प्राधिकरणले जनाएको छ । 

यसअघि प्राधिकरणले नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएको थियो । विद्युतीय गाडीको प्रयोगमा समेत वृद्धि भएको पाइएको छ ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा मात्र ९० मेगावाट विद्युत माग वृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । 

ऊर्जा मागका आधारमा मङ्सिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । 

ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो । विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्ने प्राधिकरणको आकलन छ ।