सर्लाही / सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर बताउने ४८ वर्षीय प्रमोदकुमार र ३७ वर्षीय आशिष कुमार छन् । सर्लाहीको मलङ्गवा नगरपालिका ८ स्थित सीमा इलाकाबाट शनिबार उनीहरू पक्राउ परेका हुन् ।
बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरी समक्ष बुझाइएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।