काठमाडौं / काठमाडौंको शंकरापुर नगरपालिका –३ जर्सिङपौवा स्थित रिसोर्टमा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका –९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।

OM Sai Pathibhara Hospital

उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए ।

चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् ।अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका छन् ।

उर्मिला र अर्जुन लिभिङ टुगेदरमा थिए । झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निसासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले  बताए ।

 
उर्मिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । अर्जुनलाई आफन्तको जिम्मा लगाइएको डीएसपी न्यौपानेले बताएका छन् ।