कैलाली / कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका –९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या भएको हो ।
दासको शव शनिबार स्थानीय अमरावती सामुदायिक वनमा उनले लगाएको कपडाले रुखमा बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
जोशीका अनुसार दासको टाउको र शरीर काटेर छुट्याएको थियो । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको उनले बताए ।
दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।
प्रहरीले हत्याबारे दुई युवकबीच कुराकानी भएको फोन रेकर्ड पनि भेटाएको छ ।
मृतक अरुणको साथी भएको बताउँदै एकजना युवाले आफू लगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्डसहित अन्य शंकास्पद कुराहरूमा अनुसन्धान केन्द्रित भएको प्रहरीले जनाएको छ ।
‘प्राप्त फोन कल रेकर्डमा बोल्नेहरूको पहिचान तथा अन्य शंकास्पद मानिसमाथि निगरानी गरिरहेका छौँ,’ डीएसपी जोशीले भने, ‘मृतकको पृष्ठभूमि, तथा उनीसँग सम्बन्धित जानकारी पनि संकलन भइरहेका छन्।’
फोन कल रेकर्डमा एकजना युवाले टाउको र शरीर अलग हुने गरी हत्या गरेपछि आफूहरू भागेर भारत गइरहेको बताएका छन्। ‘हामी बैङ्गलोर जादै छौं। अहिले रुपैडिहा पुगेका छौं,’ ती युवाले भनेका छन्, ‘एक – दुई दिनमा त्यो शव फेला पर्नेछ।’
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टिम सक्रिय छ।