झापा / उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ ।

पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाट सम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका ५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका १ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलिब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो ।

OM Sai Pathibhara Hospital

औपचारिक रूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरू भएको गाईघाट दिक्तेल सडक कार्यलयका प्रमुख गोपालप्रसाद खकुरेलले बताए । पचास मिटर लम्बाइ र ६।५ मिटर चौडाइको उक्त बेलिब्रिज जडान रेग्मी कन्स्ट्रक्सन निर्माण कम्पनी प्रालि गाईघाटले ७६ लाख रुपैयाँको बजेटमा सम्पन गरेको सो कम्पनीका प्रोपराइटर महेश रेग्मीले जानकारी दिए ।


सुनकोशीमा बेलिब्रिज जडानसँगै छ महिनासम्म सिधा यातायात सेवा बन्द थियो । गाईघाट दिक्तेल सडक अन्तर्गत प्रत्येक वर्ष हिउँदमा जडान गरिने र वर्षायाममा सुनकोसीको पानी बहाव बढेसँगै सुनकोसीको बेलिब्रिज छ महिनाका लागि खोलिने गरेको गाईघाट दिक्तेल सडक कार्यलयले जनाएको छ ।

गत जेठमा खोलिएको उक्त बेलिब्रिज छ महिनापछि फेरि हिउँद लागेसँगै जडान गरिएको हो । सुनकोसीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा अस्थायी रूपमा यातायात सञ्चालन गर्न सुनकोसीमा छ महिना हिउँदमा बेलिब्रिज जडान गरिने र छ महिना बर्खामा खोलिने गरेको छ ।

वर्षमा ६ महिनासम्म गाईघाट दिक्तेल सडकमा यातायात सञ्चालन बन्द हुँदा खोटाङ उदयपुरका पहाडी क्षेत्र जाने र पहाडी क्षेत्रबाट तराई झर्ने यात्रुहरूले दुःखकष्ट भोग्दै आउनुपरेको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।