झापा  / बाह्रदशी गाउँपालिका – ४ का कृषकलाई अब सिञ्चाईको समस्या हल भएको छ ।

केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिउँदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिञ्चाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसँगै सिञ्चाईको समस्या हल भएको हो ।

OM Sai Pathibhara Hospital

अहिले बाह्रदशी ४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की बितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत बितरण गरिएको वडाध्यक्ष मियाले बताए । केही सामग्री सत प्रतिशत अनुदानमा रहेका छन् भने केही केही सामग्री कृषकको समेत सहभागितामा बितरण गरिएको हो ।

कृषकका लागि ३० लाख रुपैयाँ बराबरको सिञ्चाईका विभिन्न सामग्री बितरण गरिएको छ भने २० लाख रुपैयाँ भन्दा बढी सामग्री खरिदमा कृषकको समेत सहभागितामा रहेको छ ।

मंगलबार मात्रै वडा कार्यालयले ३८ थान २/३ हर्ज पावरको मोटर बितरण गरेको छ भने १२ थान बोरिङ वितरण गरेको छ । सबै कृषकलाई सहज रुपमा सिँचाइको पहुँच पुर्‍याउन वडा कार्यालयले बोरिङ सत प्रतिशत अनुदानमा प्रदान गरेको हो भने मोटर ५० प्रतिशत अनुदानमा कृषकका लागि बितरण गरिएको वडाध्यक्ष मियाले बताए । पहिलो वर्षदेखि नै कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाएको र कृषकको जीवनस्तर माथि उठाउन पहल गरेको वडाध्यक्ष मियाको भनाई छ ।

बाह्रदशी गाउँपालिका तरकारी खेतीका लागि जिल्लामै परिचित छ । त्यसमा पनि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अधिकांश कृषक तरकारी खेतीमा निर्भर छन् ।  तर, सिञ्चाईको समस्याले केही वर्ष अघिसम्म यहाँका कृषक समस्यामा थिए । तर, वडा कार्यालयले अहिले प्राय सबै कृषकलाई सहज हुनेगरि मोटर र बोरिङको व्यवस्थापन गरेपछि यहाँका कृषक हर्षित देखिएका छन् ।