तनहुँ भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको न्यायिकरूपमा खेती गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो ।

OM Sai Pathibhara Hospital

करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए ।

गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् ।

दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उनले बताए । फार्मले दिनमै ४० देखि ५० किलोग्रामसम्म च्याउ बिक्री गर्न सकिने क्षमताको रहेको बताइएको छ ।

माछा – मासुमा भन्दा तीन गुणा धेरै पोषण तत्व हुने र जस्तोसुकै किसिमका बिरामीले पनि सो च्याउ खाना मिल्ने हुँदा यसको माग बढ्दै गएको छ ।

सिताके च्याउखेतीको विधि

सुरुमा हरियो कटुसको मुढा काट्ने, त्यसको बोक्रा जान नदिने गरी डम्पिङ गर्ने, सुकेपछि मेसिनको प्रयोगले उक्त काठ छेडेर प्वाल बनाई च्याउको बीउ रोपिन्छ ।

च्याउको बीउ रोपेको सात महिनापछि चौबीस घण्टा पानीमा डुबाएर राख्ने, त्यसपछि टुसा आएको एक हप्ताभित्र खाना र टिप्न योग्य हुने बताइएको छ ।

यसरी रोपिएको च्याउ एकपटक रोपेपछि चारदेखि पाँच वर्षसम्म निरन्तर फल दिइरहने फार्मका अर्का कर्मचारी जीवन जिसीले जानकारी दिएका छन ।

जिल्लाका विभिन्न बजारका साथै पोखरा, काठमाडौँलगायतको बजारमा बिक्री गर्दै आइएको लेखापाल पण्डितले जानकारी दिए । उक्त च्याउ बाह्य जिल्लामा प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरे पनि उक्त फार्मले प्रतिकिलो रु ६०० मा बिक्री गर्दै आएको जनाएको छ ।