झापा / झापा जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका २२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार वि क रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार मेचीनगर नगरपालिका ९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका ११ निवासी शोभादेवी ढुङ्गानाका चार थान सुनको औँठी, एक थान पञ्चरत्न बाला‚ दुई थान कानमा लगाउने सुनका टप, एक थान माइली तिलहरी चोरी भएको थियो ।

मोबाइल तथा गरगहना घरबाटै चोरी भएपछि पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएका थिए ।

प्रहरीमा उजुरी परेपछि खोजतलास गर्ने क्रममा श्रेष्ठलाई मेचीनगर १० नन्दा पेट्रोलपम्प नजिकैबाट र वि क लाई मेचीनगर ९ खुट्टेडाँगीबाट शुक्रबार दिउँसो पक्राउ गरिएको डीएसपी पाठकले बताए ।

प्रहरीले उनीहरूका साथबाट चोरी गरेका सरसामान पनि बरामद गरेको छ । यता पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।