बिर्तामोड / झापाको अर्जुनधारामा अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको छ । अर्जुनधारा–८ मा एभरेष्ट लार्ज कार्डम प्रालि नामको अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको हो ।  

प्रदेश एकका पहाडी जिल्लामा उत्पादन हुँदै आएको अलैंची प्रशोधन गर्ने उद्देश्यले स्थापित उद्योगमा ७ करोड रुपैयाँ लगानी भएको बताईएको छ । उद्योगको एक कार्यक्रमका बिच सोमवार नायिका स्वस्तिमा खड्का र प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकालले शुभारम्भ गरेका छन् ।

उद्योग शुभारम्भ कार्यक्रममा नायिका खड्कालाई उद्योगका उत्पादनको बजार बिस्तारका लागि ब्रान्ड एम्वेसडरमा नियुक्त समेत गरिएको थियो । उद्योगले मिजाज माउन्टेन , पल्स , मिजाज अलैंची पाउडर , मिजाज अलैंची दाना र मिजाज अलैंची नामका उत्पादन बजारमा ल्याउने शुभारम्भ समारोहमा जानकारी गराइएको थियो ।  

कम्पनीका अध्यक्ष निर्मल भट्टराईले अलैँचीलाई प्रशोधन गरी महँगो केसर समेतको मिश्रणबाट उत्पादित सामाग्री तयार पारिएको जानकारी गराएका छन् । प्रदेश एकका पहाडी जिल्लामा उत्पादन हुँदै आएको अलैंची प्रशोधन गरी बनाइएका सामाग्रीको नेपाल सहित विदेशमा समेत निर्यात गर्ने उध्येष्यले उच्च गुणस्तरयुक्त बनाइएको सो कम्पनीले दावी गरेको छ ।

उद्योगमा अध्यक्ष भट्टराई सहित भरत चौधरी , रामकृष्ण विष्ट र सञ्जीव घिमिरेको लगानी रहेको कार्यक्रममा जानकारी गराइएको छ ।
 
उद्योग शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का र उमेश डालमिया, उद्योग वाणिज्य महासंघ प्रदेश सदस्य बिनोद बस्नेत, कुमार भट्टराई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।