विराटनगर / अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न सकेमा समृद्धि हासिल हुन सक्ने बताएका छन । उनले मोरङ व्यापार सङ्घको ६५ औँ साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै यस्तो बताएका हुन ।

अर्थमन्त्री शर्माले हरेक राजनीतिक आन्दोलनका प्रमुख उद्देश्य मुलुकको आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर उकास्नु नै रहेकाले सबै पक्ष मिलेर काम गरेमा त्यो उद्देश्य हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

OM Sai Pathibhara Hospital

उनले यतिबेला सरकारलाई निजी क्षेत्रको दरिलो साथ चाहिएको भन्दै उद्योमी व्यवसायीलाई दूरगामी प्रभावका योजना ल्याउन आग्रह गरेका छन । उनले भने, राष्ट्रिय हित अनुकूल हुने जुनसुकै योजनामा पनि सरकारले साथ दिनेछ । लगानीको वातावरण सिर्जना गर्नेछ ।

सुनसरी – मोरङ औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

सुनसरीको अमडुवामा रहेको ६३२ बिघा जमिनमा ‘क्रस बोर्डर औद्योगिक क्षेत्र’ बनाउनुपर्ने माग उद्योगी– व्यवसायीले राखेका थिए । अर्थमन्त्री शर्माले सरकार सडक र विद्युत् सञ्जाल विस्तार गर्न सरकार तयार रहेको बताउँदै उद्योगी – व्यवसायीले त्यसको प्रारूप गरेर ल्याएमा आगामी बजेटमा त्यसलाई सम्बोधन गरिने आश्वासन पनि दिए ।