बिर्तामोड / विवादास्पद सम्झौता एमसीसी कार्यान्वयनका लागि अमेरिकाले नेपालमाथि दवाव बढाएको छ । 

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले स्वीकार गर्ने अथवा नगर्ने भनेर आगामी मंसिर २८ गतेसम्म निर्णय गर्न भनेपछि अमेरिकाले दवाव बढाएको खुलेको हो ।

OM Sai Pathibhara Hospital

मंसिर २८ भित्र एमसीसी कार्यान्वयन गर्ने निर्णय नेपालले नगरे परियोजना फिर्ता लाने उनले नेपालका नेताहरुसँगको भेटमा चेतावनी समेत दिएका छन् ।  

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबार भएको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका हुन् ।

लुले भेटमा समयसीमा नै तोकेको कुरालाई दाहालका निजी सचिव रमेश मल्लले पनि पुष्टि गरेका छन् । भेटमा अध्यक्ष दाहालले लुलेलाई स्पष्ट जवाफ भने दिएनन् । 

उनले विदेशी  सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए । 

दाहालले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको र समस्या भएको बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि एमसीसीका विषयमा विवाद चुलिएको थियो । 

संसदबाट नै अनुमोदन गर्न नहुने भन्दै सम्झौताका विषयमा सुरु भएको विवादका कारण तत्कालीन नेकपा समेत विभाजन भएको थियो ।

सहायकमन्त्री लुले शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीको विषयमा प्रश्न गरेका छन् । उनले एमसीसीका विषयमा एमालेको धारणा मागेका थिए ।

जवाफमा ओलीले आफू नेतृत्वको सरकारले अनुमोदनको कोसिस गर्दा पनि तत्कालीन विपक्षी दलले असहयोग गरेको बताउँदै अहिले एमाले प्रतिपक्षमा रहेको बताएका थिए । 

उनले सत्तारुढ दलले एमसीसी अनुमोदनका विषयमा सरकारले आफ्नो पार्टीसँग कुनै छलफल नगरेको बताएका छन् ।