काठमाडौं / गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्टसहित पाँच कम्पनीलाई बिक्री वितरणमा रोक लगाएको छ । 

नापतौल विभागले जगदम्बा, मारुती र युनाइटेड सिमेन्टको परीक्षण गर्ने क्रममा कम गुणस्तर पाएकाले बिक्री वितरणमा रोक लगाएको हो । 

OM Sai Pathibhara Hospital

विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नपाएको उल्लेख गरेको छ ।

विभागले प्रकाशन गरेको विज्ञप्ति अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।

युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो । सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम रहेको विभागले जनाएको छ ।

ती कम्पनीहरूलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने र गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।