काठमाण्डौ//डिवाई–२८ जातको धानमा बाला नलागेपछि त्यसका किसानले क्षतिपूर्ति पाउने भएका छन् ।
चिनियाँ धान (डिवाई–२८) जातको धानको बिउ सिफारिस नगरेको क्षेत्रका किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए ।

काठमाण्डौ, भक्तपुर, ललितपुरमा लगाइएको उक्त धानमा बाला नलागेपछि बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने सहमति भएको छ।
धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, किसान आयोगबीच आज बुधवार भएको छलफलपछि बिउ आयात तथा वितरण गर्ने व्यापारीले प्रति रोपनी दुई हजार दुई सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।
पुस १५ सम्म क्षतिपूर्ति दिइसक्नु पर्ने छ। प्रारम्भिक तथ्याङ्कअनुसार बाला नलागेको क्षेत्र दुई हजार आठ सय ७० रहेको छ । अहिलेसम्म क्षतिको विवरण नटिपाएका किसानलाई सात दिनभित्र पालिकामा टिपाउन आग्रह गरेको छ।