काठमाडौं //चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखी उपचार गरिएको घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।

नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो ।
उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो ।
उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन नसकेको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।
गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको उनले जानकारी गराएका छन्।
उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिए पनि बचाउन नसकेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताएका छन्।