काठमाडौँ  / स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताए । 

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए ।

“यहाँ भएका साधन स्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उनले भने, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन  तयार छौ ।”

विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन् ।

अस्पतालले कोभिड –१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।