सर्लाही //

 उखुको भुक्तानी नपाएपछि सर्लाहीका उखु उत्पादक किसान फेरि आन्दोलनमा उत्रिएका छन्।आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् ।

OM Sai Pathibhara Hospital

ऋण लिएर उखुखेती गरिएको र बिक्री भए पनि तत्काल पैसा नपाएपछि आफूहरुले वर्षौंदेखि गर्दै आएको उखु उत्पादनको पेशा दिनप्रतिदिन परिवर्तन गर्न बाध्य भएको जिल्लाका उखु उत्पादक किसानको गुनासो छ ।

०७४ कै पैसा नपाएको उनीहरुले बताए ।विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेको सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए।

पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करिब रु तीन लाख भुक्तानी पाए पनि महतोले उद्योगबाट अझै रु ८५ हजार उठाउन बाँकी रहेको छ ।उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसान काठमाडौँ पुगेका महतोले बताए । आफ्नै पैसा पाउन पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था आइरहेको जिल्लाका उखु उत्पादक किसानको गुनासो छ।

सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँतर्फ लागेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए । सचिव रायले आफूले पनि करिब २० लाख भुक्तानी नपाएको बताएका छन् ।

समितिका अनुसार इन्दिरा सुगर मिलबाट रु तीन करोड, लुम्बिनीबाट रु तीन करोड, अन्नपूर्णबाट  १२ करोड, महाकालीबाट करिब नौ करोड भुक्तानी हुन बाँकी छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको सचिव रायले बताए ।

उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो ।

२०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन ।

रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाएका थिए ।

जिल्लाका उखु उत्पादक किसानले कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए तर किसानले आश्वासनबाहेक केही नपाएको बताएका छन। भुक्तानीको लागि  पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीसँगको भेटपश्चात पनि माग सम्बोधन नभएपछि उनीहरू पुनःआन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

उखु उत्पादक किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसान उखु उत्पादन पेशाप्रति असन्तुष्ट बन्दै गएका छन् ।समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् ।

विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ पुगेका हुन् । पहिला सरकारलाई आफ्नो अवस्थाबारे जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनीहरुले बताएका छन् ।