OM Sai Pathibhara Hospital

 सिरहा//

सिरहामा परिवारबाटै हत्या भएको भन्दै माइती तथा आफन्तहरुले प्रहरी कार्यालय अगाडि शवसहित प्रदर्शन गरेका छन्।

सिरहाको धनगढीमाइ नगरपालिका ६ स्थित सिमराका सुनील महतोकी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो ।धरानबाट पोष्टमार्टमपछि माइती पक्षले श्रीमानको परिवारले हत्या गरेको आरोप लगाउँदै शव बोकेर इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।ज्ञानकुमारीको मृत्यु वा आत्महत्या नभएर हत्या भएको माइती पक्षको आरोप छ ।

मृतककी आमा महेश्वरी महतोका अनुसार आफ्नो छोरीका पति सुनीलको मानसिक अवस्था कमजोर छ । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससूरा र देवरले विभिन्न किसिमका यातना दिने गरेको उनको गुनासो छ । सोही यातना बढ्दै गएर हत्या नै गरेको उनीहरुको आरोप छ ।पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले बेवास्ता गरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको माइतीहरुको भनाइ छ । प्रहरीले भने शव झुण्डिएको अवस्थामा भेटिएकाले जाहेरी नलिएको बताएको छ । शव पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यसको आधारमा प्रक्रिया अघि बढ्ने सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।