रौतहट //

रौतहटको गौर–औरैया सीमा क्षेत्रको अन्तिम बिन्दुमा रहेको ३४७ नम्बरको पिलरको जग जीर्ण हुँदा समेत सीमास्तम्भ मर्मतको लागि  आदेश आएको छैन।

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालयले ५ महिनाअघि पिलर मर्मतका लागि प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, गृह र नापी विभागमा पत्राचार गरेको थियो । पत्रको जवाफ नै नआएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

ईशनाथ नगरपालिका -१ स्थित ढल्ने अवस्थामा पुगेको यो सीमास्तम्भ मासेर भारतीयले बोरा राख्न खोज्दा गत वर्ष विवाद भएको थियो ।भारतीय पक्षले यो भत्केर जाओस् भनिरहेका बेला रौतहट प्रशासनले भने निगरानी नियमित गरेको छ । बाढीको डुबानबाट जोगिन गत वर्ष भारतीयले बालुवा भरेका बोरा सीमामा राखेका थिए ।

त्यस बेला पिलर भत्किने गरी बोरा राख्न थालेपछि रौतहट प्रशासनले रोकेको थियो । त्यतिबेला सशस्त्र प्रहरी प्रदेश २ का तत्कालीन प्रमुख डीआईजी राजु अर्यालसहितको टोलीले स्थलगत अध्ययन गरेर निगरानीका लागि टोली नै खटाइएको थियो ।

ठूलो वर्षा भयो भने पिलर ढल्ने अवस्थामा छ ।पिलर वरपर खाडल छ । यसलाई पुर्नसमेत प्रशासनले माथिको आदेश पर्खेको छ । दुई देशको सीमामा आफूखुसी पिलर मर्मत गर्न नमिल्ने भएकोले माथिको आदेश पर्खेको प्रजिअ यादवले बताए । 

केही दिनपछि भारतको मोतीहारीमा हुन लागेको सीमा सुरक्षा बैठकमा पिलर ३४७ को मर्मत र बोरा राखेर बाँध बनाउन नपाइने विषय उठान गर्ने उनले बताए ।