काठमाडौँ/  महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठ ११ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालक अनिस जोशीलाई पनि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो ।

सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।