काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु गरिएको छ । 

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग रकम जुटाउने उद्देश्यले सोमबारदेखि अभियान सुरु गरेको घोषणा गरेको हो ।

OM Sai Pathibhara Hospital

अभियानअन्तर्गत व्यक्ति वा संस्थाले आफ्नो वा परिवारको नाम अब प्यारापिटको कुर्सीमा लेखाउन पाउनेछन् । जसका लागि १ लाख रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गर्नु पर्नेछ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्सुसले रंगशालाका ३० हजार कुर्सीमा विभिन्न व्यक्ति वा संस्थाले आफ्नो नाम लेखाउन सक्नेछन् ।

‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियानमार्फत ३० हजार कुर्सीको १ लाखका दरले ३ अर्ब रकम संकलन गर्ने कट्टेलले सोमबार राजधानीमा आयोजित कार्यक्रममा आसा व्यक्त गरे । अभियानका सम्पूर्ण जानकारी मोबाइल एप्स, फेसबुक र संचार माध्यमबाट अबको एक महिना भित्र सार्वजनिक रुपमा उपलब्ध गराइनेछ ।

हालको प्रगतिको आधारमा, यदि कुर्सी अभियानबाट अपेक्षित रकम संकलन गर्न सके रंगशाला अबको १८ महिना भित्र सम्पन्न गर्न सकिने फाउण्डेशनले जनाएको छ। २०७५ माघ १६ गते सम्झौता भइ निर्माण सुरु गरिएको रंगशालाको कुल लागत ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

अहिलेसम्म निर्माणमा ४३ करोड ४८ लाख रुपैयाँ बढी खर्च भएको छ। जनस्तरबाट सहयोग जुटाएर निर्माण गर्ने लक्ष्य लिइएको रंगशालाका लागि अहिलेसम्म ३२ करोड ३० लाख रुपैयाँ संकलन भएको छ। त्यसैले ११ करोड १७ लाख रुपैयाँ ऋणमा रहेको फाउण्डेशनले जनाएको छ ।

परियोजनाको कुल लागत रकमको ९/१० प्रतिशत मात्र संकलन भएको छ ।

अहिलेसम्म मुख्य क्रिकेट मैदानको काम ८५ प्रतिशत सकिएको र प्यारापिटको काम ३० प्रतिशत सकिएको फाउण्डेसनको भनाइ छ ।