बिर्तामोड / भद्रपुर भन्सार कार्यालयमा मिलेमतोमा भएको कर छली प्रकरणका विषयमा भन्सार विभागले पनि छानबिन सुरु गरेको छ । विभागको बबरमहल स्थित केन्द्रिय कार्यालयले भद्रपुर कार्यालयसँग सो विषयमा लिखीत रुपमा जानकारी मागेको हो ।

गत सोमवार महाबीर ट्रेडर्सका नाममा आएका मोवाईल सामाग्रीमा मिलेमतोमा कर छली भएको विषय सतहमा आएपछि आन्तरीक छानविन सुरु गरेको विभागका एक अधिकारीले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital


कर छलीको यो प्रकरणलाई गोप्य राखेर झापाकै केहि ठुला व्यवसायी र स्थानिय नेताको पहलमा मिलाउन कोशिस गरिएको भएपनि गुप्तचर खबरले निरन्तर समाचार प्रकाशन र प्रशारण गरेपछि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले समेत छानविन अघि बढाएको थियो । सरकारी निकायले एक साथ छानविन थालेपछि सामानको परिमाण र आयातकर्ता फर्मका संचालक समेत गोप्य राखेर बचाउने अनि कम जरीवानामा छुटाउने प्रयास समेत विफल भएको छ । 

पटक–पटक कर छलीमा जोडिएर बदनाम बनेको भन्सार कार्यालयको पछिल्लो घटनामा पनि मोवाइलमा प्रयोग हुने टेम्पर ग्लासको नाममा तौल अनि परिमाण समेत कम देखाएर अन्य सामाग्री आयात भएको खुलासा भएको थियो । तिन वटा पिकअपमा भारतवाट आएको २ सय छयासी कार्टुन सामाग्रीको कुल तौल २ हजार ९०० केजी देखाएर २ हजार २ सय ३० केजी तौल बराबरका सामाग्रीको मिलेमतोमा कर छली भएको थियो ।

मिलेमतोमा भद्रपुर भन्सारबाटै कर छली हुने गरेको सुचना भन्सारकै कर्मचारीबाट प्रहरीको उपल्लो तहमा पुगेपछि जिल्ला प्रहरी कार्यालय झापाले भन्सारबाट गाडी बाहिर निस्के लगत्तै नियन्त्रणमा लिएको थियो । 

भद्रपुर–५ का व्यवसायी कठारी परिवारका सदस्य संचालक रहेको भनिएको आयातकर्ता फर्मको कारोवारमा कर छलीको विषय वाहिरीएपछि जिल्ला प्रहरी कार्यालयले समेत बास्तवीक धनि पक्राउ नगरी मनोज कुमार श्रेष्ठलाई संचालक भन्दै राजश्व अनुशन्धान कार्यालयको ईटहरी स्थित कार्यालयलाई बुझाएको थियो ।

अख्तियार , राजश्व अनुशन्धान विभाग , भन्सार विभाग र प्रहरीले सो प्रकरणका विषयमा छानविन थालेका छन् । अख्तियारको ईटहरी स्थित कार्यालयका प्रमुख बाबुराम खतिवडाले सो विषयमा छानविन भईरहेको जानकारी गराएका छन् । 

भन्सार विभागले पनि कर छलीको विषयमा नायव सुब्बा किशोर आचार्य , लक्ष्मी बिक , नानुका पोख्रेल र कार्यालय प्रमुख प्रमोद पौडेल सहितलाई शंकाको घेरामा राखेर आन्तरिक छानविन थालेको छ । कार्यालय प्रमुख पौडेलले आन्तरीक छानविन सुरु भएको समेत पुष्टि गरेका छन् । उनले भने–काम गर्ने क्रममा त्रुटि भेटिएको छ , सो विषयमा आन्तरीक छानविन हुँदैछ , अन्य सरकारी निकायले समेत छानविन अघि वढाएकाले दोषी पाईएका कसैले पनि  उन्मुक्ति पाउने छैनन् । 

कर छलीको सुचना पाएर सामान बरामद गर्न सक्रिय देखिएको नेपाल प्रहरीको १ नम्बर प्रदेश कार्यालयले पनि सो विषयमा आन्तरीक छानविन सुरु गरेको छ । बरामद सामानका वास्तविक आयातकर्ता नसमाती नक्कली धनी बनाईएको विषयमा आन्तरीक छानविन गरिने र दोषी पाईए प्रहरी अधिकारीलाई समेत कारवाही हुने कार्यालयले जनाएको छ । 

(भन्सार कार्यालयका कर्मचारी, प्रहरी अधिकारी र हामीलाई समाचार उपलब्ध गराउने समाचार स्रोतले दिएको सुचना फरक–फरक पर्न जाँदा कारोबारमा संलग्न फर्मको नाम महाबीर ट्रेडर्स हुनु पर्नेमा हनुमान ट्रेडर्स र फर्म धनीको नाम उल्लेख हुनु पर्नेमा पारिवारीक सदस्यको नाम समावेस भएकाले क्षमा याचना सहित प्रकाशित र प्रशारीत समाचार सच्याईएको छ -सम्पादक)