बिर्तामोड । पछिल्लो समय अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएको छ । बजार मूल्य घटेसँगै अलैँची कृषक निरास हुँदै गएको छन् । 

प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । 

शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताए  । आजभन्दा ६७ वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन गाउँपालिका–७ निवासी अलैँची कृषक विमना लिम्बूले बताए । 

यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । 

जिल्लामा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले बताए । जिल्लामा अलैँची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताए । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती गर्दै आएको बिष्टले बताए ।

 केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा खेती छोड्ने कि सम्हाल्ने भन्नेमा कृषकहरु दोधारमा परेका छन् । शुरुमा राम्रो मूल्य आएपछि अन्न उत्पादन हुने खेतीयोग्य जमीन मासेर अलैँची खेती शुरु गरेका किसानलाई पछिल्लो समय मूल्य आउन छोडेपछी कृषकहरु चिन्तित बनेका छन् । 

यस वर्ष अलैँची बजारमा निस्कन थाल्दादेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन २४ हजार ५०० रुपैयाँमा भएको वरिष्ठ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश अधिकारीले बताए । विगत एक साताअघि देखि नै सोही मूल्यमा अलैँचीको कारोवार भइरहेको अधिकारीले जानकारी दिए । गोलसाई जातको अलैँची भने प्रतिमन २६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । 

यस वर्ष अधिकतम प्रतिमन २८ हजार रुपैयाँ र न्यूनतम २० हजार रुपैयाँमा अलैँचीको कारोबार भएको छ । दुई बर्ष अघि एक लाख २० हजार रुपैयाँ सम्म किनबेच भएको अलैँची कारोवार हालको मूल्यले गर्दा किसान थकित बनेका छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीको मूल्य नआउँदा ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा आर्थिक चलखेलमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् ।