झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

OM Sai Pathibhara Hospital


नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्यांकी, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।


इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए । उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरुलाई पालो मिलाएर सिटी रिक्सामा पठाउने गरिएको स्वीकार गरे । ‘‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ,’’ उनले भने, ‘‘तर, अन्यको हकमा भने पुरानै अवस्था छ, खुकुलो बनाइएको छैन ।’’

उनले नेपालका अन्य सीमानाका खुलेपनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए ।


कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमानाकाहरु बन्द गरेको थियो ।