काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् ।

कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए ।

‘फेला परेका शवबाट दुर्गन्ध निस्केर भयावह अवस्था सिर्जना भएको छ । शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइकन व्यवस्थापन गरिरहेको कुरा गम्भीरतापूर्वक उठिरहेको छ,’ उनले भने, ‘भोटेकोशी र त्रिशूली क्षेत्रको दुर्गन्ध हाम्रो लागि विशेषगरी ठूलो चुनौती हो ।’

यस विषयमा आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको उनले बताए । प्रधानमन्त्रीसँग शनिबार भेट भइसकेपछि स्थानीय तहका नेता तथा कार्यकर्तासँग फोनमार्फत प्राप्त जानकारीका आधारमा नौबुँदे ध्यानाकर्षण गराएको आङ्देम्बेले बताए । प्रभावित क्षेत्रहरूमा तत्काल हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्नेमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

उनले भने,‘हिजो मेरो प्रधानमन्त्रीसँग भेटभैइसके पछाडि मैले ९ बुँदामा ध्यानाकर्षण गराएको छु । त्यो बुँदाहरु स्थानीय तहका नेता साथिहरु, फोन मार्फत पनि कुरा भएका आधारमा कोड गरेर मैले ९ वटा बुँदाहरु समेटेको छु । जहाँ जहाँ प्रभावित स्थहरु छन् त्यसमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्कालको लागि हवाई उद्धारलाई थप प्रभावकारी बनाउने कुरामा ध्यानाकर्षण गराएको छु ।’ 

आङ्देम्बेले विपद्को समयमा नेपाली कांग्रेसले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । बाढीपीडितका बीचमा पार्टीको झण्डा बोकेरभन्दा विशुद्ध सेवाको भावनासहित पुग्नुपर्ने उनले बताए ।

‘यस्तो बेला पार्टीको झण्डा बोकेर बाढीपीडितको ठाउँमा नगई विशुद्ध सेवाको रूपमा हामी अगाडि जानुपर्छ । सेवा देखेपछि मान्छेले आफैं पार्टी चिन्छ,’ उनले भने ।