काठमाडौं / नेपालका परराष्ट्रविज्ञ, वामपन्थी बुद्धिजीवी तथा विभिन्न कम्युनिस्ट दलका नेताहरूले राष्ट्रियता संरक्षणका लागि देशभक्त शक्तिहरूबीच एकताबद्ध पहल आवश्यक रहेको बताएका छन्।
शनिबार राजधानीको संवाद डबलीमा समाजवादी कम्युनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘नेपालको राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता’ विषयक गोष्ठीमा वक्ताहरूले राष्ट्रिय स्वाधीनता, स्वतन्त्र परराष्ट्र नीति र बाह्य हस्तक्षेपका विषयमा आफ्नो धारणा राखेका हुन्। कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर विपद् व्यवस्थापन कूटनीति अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
उनले राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता दिनेश शर्मा, माओवादी नेता हरिबोल गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेता लीलामणि पोखरेल तथा वामपन्थी बुद्धिजीवी महादीप पोखरेलले पनि राष्ट्रिय हितका विषयमा राजनीतिक शक्तिहरूबीच साझा धारणा र सहकार्यको आवश्यकता औंल्याए। वक्ताहरूले हालैको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका पीडितप्रति समवेदना व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को घडीमा राष्ट्रिय एकता अझ आवश्यक भएको उनीहरूको भनाइ थियो।





































