काठमाडौं— देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।
हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।






































