काठमाडौं / नेपालमा सवारीसाधनको एसेम्बली तथा स्थानीय उत्पादनको सम्भावना बढ्दै गए पनि यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थिर र स्पष्ट सरकारी नीति आवश्यक रहेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताएका छन्।

उप्रेतीका अनुसार नेपालमै सवारीसाधन उत्पादन तथा एसेम्बलीका लागि लगानी बढिरहेको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सके बहुराष्ट्रिय कम्पनीलाई समेत नेपालमा लगानीका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ। नेपालमा उत्पादन तथा एसेम्बली भएका सवारीसाधनलाई आगामी नाडा अटो शो २०२६मा विशेष प्राथमिकता दिने तयारी गरिएको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा नेपालमै एसेम्बल भएका सवारीसाधनसँगै नयाँ प्रविधि र मोडलसमेत प्रदर्शन गरिनेछ।

उप्रेतीले नेपालमै पूर्ण रूपमा उत्पादन भएको यात्री मोटरसाइकलसमेत प्रदर्शनीमा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।

ईभी बजार विस्तार, चार्जिङ पूर्वाधार चुनौती

नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको हिस्सा पछिल्लो समय निरन्तर बढिरहेको उप्रेतीले बताए। पेट्रोल तथा डिजेलका सवारीसाधनको तुलनामा ईभीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उनको भनाइ छ। तर ईभीको संख्या बढ्दै जाँदा पर्याप्त चार्जिङ पूर्वाधार निर्माण हुन नसक्नु चुनौतीका रूपमा देखिएको उनले बताए। नेपालमा दुई हजारभन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसके पनि आगामी दिनमा ईभीको संख्या थप बढ्ने भएकाले पूर्वाधार विस्तारलाई तीव्र बनाउनुपर्ने उनको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रबाट विभिन्न स्थान र राजमार्गमा चार्जिङ स्टेसन विस्तार भइरहेको उनले जानकारी दिए।

अटोमोबाइल बजारमा सुधारको संकेत

अध्यक्ष उप्रेतीले लामो समयदेखि सुस्त रहेको नेपालको अटोमोबाइल बजार क्रमिक रूपमा सुधारतर्फ अघि बढिरहेको दाबी गरे। पछिल्लो बजेट तथा मौद्रिक नीतिमा भएका केही व्यवस्थाले व्यवसायलाई सहज बनाएको उनको भनाइ छ। उनले सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह थप सहज बनाउनुपर्ने बताए। विशेषगरी ‘लोन टु भ्यालु’ अनुपात बढाउने र निश्चित अवधिका लागि ब्याजदरमा सहुलियत दिने व्यवस्था गरिए बजार थप चलायमान हुन सक्ने उनको तर्क छ।

अटो शोमा २०० भन्दा बढी स्टल

नाडाका अनुसार आगामी अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। सवारीसाधनसँगै पार्टपुर्जा, टायर, लुब्रिकेन्ट, बीमा, बैंक तथा वित्तीय सेवा, बिक्रीपछिको सेवा र नयाँ प्रविधि प्रदर्शनीमा समेटिनेछन्।  उप्रेतीले अटो शो केवल सवारीसाधन बिक्रीको कार्यक्रम नभई नेपालको अटोमोबाइल क्षेत्रसँग जोडिएको सम्पूर्ण आर्थिक गतिविधि प्रस्तुत गर्ने थलो भएको बताए। उनका अनुसार सवारीसाधन बिक्रीसँगै बैंकिङ, बीमा, बिक्रीपछिको सेवा, रोजगारी, यातायात, होटल तथा अन्य व्यवसायसमेत अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

नाडाले सडक सुरक्षा र दक्ष जनशक्ति विकासलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा सचेतना कार्यक्रम तथा अटोमोबाइल क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि सीपमूलक तालिम सञ्चालन भइरहेको उप्रेतीले जानकारी दिए।