कविता:
'सीमाभन्दा पर'
-देवेन्द्र के. ढुङगाना
हामीले सिमामा कोर्यौँ—
तिमीले मिच्यौ,
तर प्रकृतिले
सिमाना मानेन।
नदीले पासपोर्ट बोकेन,
हावाले भिसा मागेन,
हिमालले
कुन देशको हो भनेर
आफ्नो छातीमा
नक्सा टाँसेन।
हामीले
बारुदले इतिहास लेख्यौँ,
उसले पानीले
सबै अक्षर बगाइदियो।
तिमीले भनेका थियौ—
“यो मेरो भूगोल हो!”
मैले भनेँ—
“यो मेरो मुटु हो!”
प्रकृतिले हाँसेर भन्यो—
“मुटु र भूगोल
दुवै उधारो हुन्।”
आज
रसुवाको भेलमा
ढलेका पुलहरूबीच
एउटा प्रश्न उभिएको छ—
मानिस बचाउने कि
सीमा?
प्रेमले
क्रान्तिको
हात समातेको छ,
क्रान्तिले
प्रेमको आँखामा
भोलिको नक्सा कोर्दैछ।
हामी
राष्ट्र होइन,
पहिले मानिस बन्ने
अभ्यासमा छौँ।
किनकि
हिमनदी फुट्दा
विचारधारा बग्छन्,
बाढी उर्लिँदा
सत्ताका पर्खाल ढल्छन्,
र मृत्युको अगाडि
सबै झण्डा
एउटै रङको हुन्छ।
त्यसैले—
हामी सिमाना मेट्न होइन,
सिमानाभित्रको
मानवता जगाउन निस्कौँ।
प्रकृतिलाई जित्न होइन,
उससँग प्रेम गर्दै
नयाँ संसार बनाउन निस्कौँ।
जहाँ
नदी स्वतन्त्र होस्,
मानिस सुरक्षित होस्,
प्रेम विद्रोह होस्,
र क्रान्ति—
मानवताको
अर्को नाम होस ।
भद्रपुर-८, सुकृतिनगर




































