काठमाडौं— शोषण, विभेद र सामाजिक अन्यायविरुद्ध दुई दशकभन्दा लामो समयदेखि अभियानमा सक्रिय सिन्धुलीका रुद्रबहादुर खड्का ‘प्रकाश मानव अधिकार पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३४औँ स्मृति दिवसका अवसरमा प्रदान गरिएको ३२औँ प्रकाश मानव अधिकार पुरस्कार खड्कालाई प्रदान गरिएको हो। साउन १६ गते ललितपुरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले खड्कालाई सम्मानपत्र, नगद ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिन्।

पुरस्कार प्रदान गर्दै न्यायाधीश मल्लले राजनीतिक परिवर्तन भए पनि द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको न्याय र परिपूरणको काम अझै पूरा हुन नसकेको बताइन्। अदालतले न्यायको बाटो खोल्न सक्ने भए पनि नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण नभएसम्म मानव अधिकारको वास्तविक प्रत्याभूति हुन नसक्ने उनको भनाइ थियो।

‘सुन्दर संविधान, उत्कृष्ट कानून र सक्षम संस्था हुँदाहुँदै पनि त्यसको वास्तविक मूल्य राज्यको ढोकामा न्याय खोज्दै पुगेको कमजोर नागरिकले के पाउँछ भन्ने कुराले निर्धारण गर्छ,’ मल्लले भनिन्।

लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्ति र पहुँचविहीन नागरिकले पाउने न्यायबाट हुने उनले उल्लेख गरिन्।

मल्लले प्रविधिको तीव्र विकास र कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसँगै मानव अधिकारको संरक्षणका लागि डिजिटल सचेतना आवश्यक रहेको बताइन्। जलवायु परिवर्तनका कारण प्रकृति संरक्षणको विषय पनि मानव अधिकारसँग जोडिएको उल्लेख गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण भएको धारणा राखिन्।

पुरस्कार ग्रहण गर्दै खड्काले आफ्नै जिल्लामा जन्मिएका प्रकाश काफ्लेको स्मृतिमा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए। सम्मानले आफूमा खुशीसँगै थप चुनौती र जिम्मेवारीसमेत थपिएको उनको भनाइ थियो।

खड्काले ग्रामीण तहसम्म मानव अधिकारको चेतना, जागरण र सुशासनको अभियानलाई विस्तार गर्न इन्सेकलगायत मानव अधिकार क्षेत्रमा काम गर्ने संस्थाहरू अझ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।