काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको नेतृत्वशैलीमाथि कडा टिप्पणी गर्दै अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग संवाद गर्न किन नखोजिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनले राष्ट्रिय संकट र जटिल परिस्थितिमा अनुभवको उपयोग गर्नु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै संवादबाट टाढा रहनु उचित नभएको बताए।
प्रचण्डले नेपालमा लोकतन्त्र, शान्ति प्रक्रिया, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दशकौँ संघर्ष गरेका तथा जटिल राजनीतिक संकट समाधानको अनुभव भएका नेताहरूको ठूलो पंक्ति रहेको स्मरण गराउँदै उनीहरूसँग छलफल र सहकार्य गर्न प्रधानमन्त्रीलाई के ले रोकेको हो भन्ने आफूलाई अनौठो लागेको बताए। उनले प्रतिपक्षसँग संवाद गर्नु कमजोरी नभई परिपक्व नेतृत्वको परिचय हुने धारणा राखे।
भ्रष्टाचार नियन्त्रणको प्रसंग जोड्दै प्रचण्डले प्रधानमन्त्रीले आफूलाई बोलाएर ‘तपाईंले पनि भ्रष्टाचारविरुद्ध लड्छु भन्नुभएको थियो, सफल हुन किन सक्नुभएन ?’ भनेर सोधेको भए आफू आफ्ना अनुभव खुलेर सुनाउन तयार रहेको बताए। उनले संवादले नेतृत्वको कद घटाउने होइन, निर्णयलाई अझ परिपक्व र प्रभावकारी बनाउने तर्क गरे।
प्रधानमन्त्रीभित्र ‘म मात्रै पर्याप्त छु’ भन्ने सोच वा अहंकारले संवाद रोकिएको भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिँदै उनले सरकारलाई प्रतिपक्षको भूमिका कमजोर नठान्न आग्रह गरे। प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढ्दा देश थप जटिलतामा फस्ने र त्यसको राजनीतिक जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ थियो।
यसैक्रममा प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै दुईतिहाइ बहुमतको दम्भ नपाल्न पनि चेतावनी दिए। उनले राष्ट्रिय महत्वका विषयमा सरकार र प्रतिपक्षबीच सहकार्य, संवाद र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रचण्डको अभिव्यक्तिपछि संसद्मा सरकारको नेतृत्वशैली, राजनीतिक संवाद, प्रतिपक्षसँगको सम्बन्ध र सहकार्यको आवश्यकताबारे नयाँ बहस सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले विपक्षी दल र अनुभवी नेतृत्वसँग संवादको बाटो रोज्ने वा हालकै कार्यशैलीलाई निरन्तरता दिने भन्ने विषय अब राजनीतिक वृत्तको प्रमुख चासो बनेको छ।





































