काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा चुनौतीबीच सरकारले उच्चस्तरीय सुरक्षा समीक्षा थालेको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर देशको समग्र शान्ति–सुरक्षा अवस्था, विशेषगरी सुनसरी घटनापछि विकसित परिस्थितिबारे विस्तृत छलफल सुरु भएको हो।
बैठकमा प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति तथा रक्षा सचिव सहभागी छन्। परिषद्ले सुनसरी घटनाको सुरक्षा प्रभाव, सम्भावित जोखिम र त्यसको नियन्त्रणका लागि आवश्यक रणनीतिबारे समीक्षा गरिरहेको सरकारी स्रोतले जनाएको छ।
देवानगञ्ज घटनापछि विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएका बेला बसेको यो बैठकलाई सरकारले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ। परिषद्ले नेपाली सेनाको परिचालनसम्बन्धी सिफारिस, राष्ट्रिय सुरक्षा नीति, प्रतिरक्षा रणनीति, सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा आवश्यक हातहतियार र उपकरणसम्बन्धी नीतिगत विषयमा पनि निर्णय तथा सुझाव दिने संवैधानिक जिम्मेवारी बोकेको निकाय हो।
सुनसरी घटनाले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र राजनीतिक जिम्मेवारीबारे बहस चर्किरहेका बेला बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई सरकारले आगामी सुरक्षा रणनीति तय गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ। बैठकबाट शान्ति–सुरक्षा सुदृढ पार्ने र संवेदनशील क्षेत्रको अवस्था नियन्त्रणमा राख्ने विषयमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।





































